समाचार

चोरीको आरोपमा एक जना पक्राउ



काठमाडौँ, २७ मंसिर । चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक गजुरेललाई ठमेलबाट पक्राउ गरिएको हो ।

यही मङ्सिर २६ गते राति १२ः३० बजे काठमाडौँ सोह्रखुट्टेस्थित होटल लोटस ग्राण्डको पहिलो तल्लामा रहेको नेपाल होलिडे टे«क एण्ड ट्राभल्सको कार्यालयबाट चोरी गरेको पाइएको छ । गजुरेलले काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित राज फाइनान्सबाट पनि यही मङ्सिर २४ गते चोरी गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले आरोपी गजुरेलबाट नगदसहित खैरो रङको ब्याग, चोरी गर्दा प्रयोग गरेको हरियो रङ्को हुडी, क्यानन क्यामेरा, हार्ड ड्राइभलगायतका सामग्री बरामद गरेको छ ।