काठमाडौँ, २७ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टीको पदाधिकारी संख्या बढाउने प्रस्तावबाट ब्याक भएका छन् ।
शुक्रबारको सचिवालय बैठकमा ओलीले विधान संशोधन गरी दुई उपाध्यक्ष र दुई सचिव थप गर्ने प्रस्ताव राखेका थिए । तर, पदाधिकारी थप्न नहुने संस्थापनइतरको दबाबपछि ओली पछि हटेका हुन् । १५ पदाधिकारी यथावत् राख्ने निर्णय बैठकले गरेको छ ।
ओलीलाई आफ्ना नेताकाे व्यवस्थापन गर्न अफ्ठ्यारो परेकाले विधान संशोधनको प्रस्ताव आएको भन्दै इतर पक्षले आपत्ति जनाएको थियो । अध्यक्षको उमेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्टले असहमति जनाएका हुन् । एमालेले भदौ २०–२२ मा भएको विधान महाधिवेशनले पदाधिकारीको संख्या घटाएको थियो ।
अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १५ सदस्य रहने व्यवस्था विधानमा गरेको थियो । तर, सचिवालय बैठकमा ओलीले १९ पदाधिकारी नै बनाउने प्रस्ताव राखेका थिए । १९ पदाधिकारीमा फर्काउने ओलीको चाहना सचिवालय बैठकबाट अस्वीकृत भएको छ ।










प्रतिक्रिया दिनुहोस्