राजनीति

महाधिवेशनले एमाले थप बलियो भएको सन्देश दिएको छ : शङ्कर पोखरेल



काठमाडौँ, २७ मंसिर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले यतिबेला मुलुकको संविधान घायल भएको र लोकतन्त्र कमजोर भएको बताएका छन् ।

भक्तपुरको सल्लाघारीमा सुरु भएको एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै महासचिव पोखरेलले भदौ २३ पछिका घटनालाई प्रतिगमनको संज्ञा दिँदै उनले भने, ‘संविधान घायल भएको छ । लोकतन्त्र कमजोर बनाइएको छ’, ‘जनताले निर्वाचित गरेको प्रतिनिधिसभा विघटन भएको छ ।’ 

उनले भदौ २३ र २४ को घटनापछि नेकपा एमालेविरुद्ध सङ्गठित र सुनियोजित रूपमा प्रहार गरेर एमालेको भविष्य समाप्त भयो भनेर प्रचारबाजी भए पनि महाधिवेशनमा भएको भव्य उपस्थितिले एमाले थप बलियो भएको पुष्टि गरेको बताए । 

उनले भने, ‘हामी सरकारबाट बाहिरिएका छौँ तर नेपाली जनताको मनमा छौँ’, ‘यो उपस्थितिले एमाले थप बलियो भएको छ भन्ने सन्देश दिएको छ ।’