Banner News

मुलुकलाई निकास दिन निर्वाचन नै उच्चतम विधि : राष्ट्रपति पौडेल



काठमाडौँ, २९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान समस्यालाई निकास दिन आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नै उच्चतम विधि भएको बताएका छन् ।

आज टुँडिखेलमा काठमाडौँ महानगरपालिकाको महानगर दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने ‘मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो । त्यही भएर युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मूर्तरूप दिन आगामी २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । यसलाई सफल पारेर अघि बढौँ र सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी बनौं,’ ।

सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी बन्न उनले आह्वान गरे ।

उनले भने, ‘इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पन्ने दायित्व हाम्रो काँधमा छ । यो दायित्व पूरा गर्नबाट हामी चुक्न हुँदैन भन्ने म ठान्दछु । त्यसका लागि नवीन सोच, शैली र योजना तथा त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ ।’