समाचार

आठ बालिकाको उद्धार



काठमाडौँ, ४ पौष । स्पा र होटलबाट आठ बालिकाको प्रहरीले उद्धार गरेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार बिहीबार यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

उनीहरूले नवबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको हो ।

पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका–१२ की ४० वर्षीया गीताकुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका–४ का ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ का ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगङ्गा नगरपालिका–६ का ४९ वर्षीय भीमबहादुर साउद छन् ।

सूचनाका आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले छापा हानेर उनीहरूलाई पक्राउ गरी बालबालिकाको उद्धार गरेको हो ।

प्रहरीले काठमाडौँ ठमेलस्थित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लब, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजाघर र खप्तड सुदूरपश्चिम गेष्टहाउसबाट ती बालिकाको उद्धार गरेको हो । उनीहरूमाथि जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।