काठमाडौँ, ६ पौष । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडकको निर्माण सुनिश्चितताका लागि तत्काल नयाँ टेन्डर प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको शुक्रबार आयोजित बैठकमा मन्त्री घिसिङले रद्द गरिएका ठेक्काको बाँकी कामको नापजाँच र निर्माण पूरा गर्न लाग्ने बजेटको मूल्यांकन गरी तत्काल टेन्डरको नयाँ प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।
सडक विभागअन्तर्गत ठेक्का लिई वर्षौंदेखि अलपत्र पारिएका सडक र पुल निर्माणका ४३ ठेक्का तोडिएको छ । यसको कुल रकम २ अर्ब ९७ करोड ७९ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका निकायका लागि १ खर्ब ५१ अर्ब ७५ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ । त्यसमध्ये पहिलो त्रैमासिकका लागि ४८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको र विनियोजित रकममध्ये ११ अर्ब ६४ लाख रुपैयाँ मात्र खर्च भएको छ ।










प्रतिक्रिया दिनुहोस्