राजनीति

७ लाख राहदानी ल्याउने सम्झौता: झण्डै ४ लाख थान पासपोर्ट आइपुग्यो



काठमाडौँ, ८ पौष । राहदानी विभागले थप ३ लाख ९६ हजार थान राहदानी (पासपोर्ट) आपूर्ति भएको जनाएको छ ।

पासपोर्टको अभाव भएपछि सरकारले अन्तरिम अवधिका लागि ७ लाख थान राहदानी ल्याउने सम्झौता गरेको थियो । सोही सम्झौता अनुरूपको करिब ४ लाख थान राहदानी विभागमा आइपुगेको हो । विभागका अनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट कार्तिक १५ गतेसम्म आवेदन दिनेहरूको राहदानी यसअघि नै पठाइसकिएको छ । अब मङ्सिर १५ गतेसम्म आवेदन दिएका सेवाग्राहीहरूको राहदानी भने धमाधम छपाइ गरी यही पुस १५ गतेभित्र सम्बन्धित जिल्लामा पठाइसक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

काठमाडौंस्थित राहदानी विभागबाटै द्रुत सेवामार्फत आवेदन दिन चाहने सेवाग्राहीका लागि पर्याप्त अनलाइन अपोइन्टमेन्ट उपलब्ध गराइएको विभागले जनाएको छ । आवेदन दिनेहरूले सामान्यतः २ कार्यदिन भित्र राहदानी प्राप्त गर्ने साविककै व्यवस्थालाई निरन्तरता दिइएको विभागको सोमबार जारी सूचनामा उल्लेख छ ।