राजनीति

सरकार चुनावमा होमिन उत्साहित भएर अघि बढेको छ : मन्त्री खरेल



काठमाडौँ, ९ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको लागि उचित वातावरण बनिसकेको दाबी गरेका छन् ।

आज जनमत पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उचित वातावरण बनिसकेको जिकिर गरेका हुन् ।

उनले भने,  ‘चुनावको वातावरण तयार गर्न सरकारको तर्फबाट मुख्य राजनीतिक दलहरूको पार्टी कार्यालयमै आएर छलफल गरेका हौं । जनमत पार्टी चुनावको लागि तयारी अवस्थामा छ । फागुन २१ मा सरकारले चुनाव गर्दैछ,’ ‘हामी जति राजनीतिक दलहरूको पार्टी कार्यालयमा गएका छौं, उहाँहरूले चुनावको लागि वातावरण बनिसकेको र चुनावको लागि तयार भएको सन्देश पाएका छौं । हामी सबै चुनावमा होमिनुपर्छ भनेर सरकार उत्साहित भएर अघि बढेको छ ।’

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको तर्फबाट कानूनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेलसहित प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल निर्वाचनको वातावरण बनाइदिन आग्रह गर्दै राजनीतिक दलहरूको कार्यालय पुगेर अनुगमन गरिरहेका छन् ।