राजनीति

उम्मेदवारले २४ विषयमा स्वघोषणा गर्नुपर्ने



काठमाडौँ, ११ पौष । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन गर्दा २४ विषयमा स्वघोषणा गर्नुपर्नेछ । निर्वाचन आयोगले उम्मेदवारको स्वघोषणा फारम परिमार्जन गर्दै ६ विषय थप गरेको छ ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ अन्तर्गत अनुसूची–६ मा रहेको स्वघोषणा फारम परिमार्जन गरेको हो । २०७९ को निर्वाचनका बेला आयोगले तयार पारेको स्वघोषणाको सूचीभन्दा यसपालि दायरा फराकिलो बनाएको आयोगले जनाएको छ ।

आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी ऐनको मस्यौदा तयार गरी असार २०८० मै सरकारलाई बुझाएको थियो । मस्यौदामा उम्मेदवारको अयोग्यतासम्बन्धी विषय थपिएको छ । तर विधेयकको मस्यौदा सरकारले अघि बढाएन । नयाँ कानुन नआउँदै मुलुक प्रतिनिधिसभा निर्वाचनमा प्रवेश गरेको छ । विधेयकको मस्यौदामा प्रस्ताव गरेका केही विषयलाई आयोगले स्वघोषणा फारममा समेटेको छ ।

आयोगका अनुसार भ्रष्टाचारको कसुरमा सुरु अदालतबाट भ्रष्टाचार ठहर भई पुनरावेदनमा विचाराधीन नरहेको, ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न नगरेको वा निर्माण कार्यमा व्यवधान नपुर्‍याएको, कुनै कम्पनी वा संस्था कालो सूचीमा रहेकोमा त्यस्तो बेला त्यो संस्थाको सञ्चालक, पदाधिकारी वा कार्यकारी प्रमुख अधिकृतको पदमा बहाल नरहेको, कुनै सहकारी संस्थाको सञ्चालक पदमा रही प्रचलित कानुनविपरीत आर्थिक हिनामिना गरी त्यस्तो सहकारी संस्थालाई हानि–नोक्सानी नपुर्‍याएको, अन्तिम लेखा परीक्षणबाट रकम असुलउपर गर्नुपर्ने गरी व्यक्तिगत रूपमा बेरुजु कायम भएको, नरहेको नयाँ विषय पनि स्वघोषणा सूचीमा थपिएको छ । प्रचलित कानुनबमोजिम पक्राउ पुर्जी जारी भएकामा पक्राउ हुन नसकी फरार नरहेको स्वघोषणा पनि उम्मेदवारले गर्नुपर्ने अर्को विषय पनि नयाँ हो ।