काठमाडौँ, ११ पौष । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा अर्घाखाँची घर भई हाल काठमाडौँ वसुन्धरा बस्ने अन्दाजी २१ वर्षीय सागर खड्का रहेका छन ।
बालाजुदेखि वाइपासतर्फ गइरहेको बा प्र ०१–००६ख ३४५४ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको लु ५९ प ७०६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा गम्भीर घाइते भएका खड्काको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको छ ।
त्यसैगरी, उक्त दुर्घटनामा परी अर्घाखाँची घर भई हाल काठमाडौँ बालाजु हाइट बस्ने २२ वर्षीय लक्ष्मण राउत गम्भीर घाइते भएको र उनको टाउको, दाहिने हात र शरीरका विभिन्न भागमा चोट लागी बोल्न नसक्ने अवस्थामा रहेकाे उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेको त्रिवि शिक्षण अस्पताल महारगञ्जमा उपचार भइरहेको तथा मृतक र घाइते दुवै जना मोटरसाइकलमा सवार रहेको खुल्नमा आएको छ । अहिले दुर्घटनामा परी क्षति भएको मोटरसाइकल प्रहरी वृत्त बालाजु र ठक्कर दिने टिपर प्रहरी पहरा गण सामाखुसीको नियन्त्रणमा रहेको तथा टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्