समाचार

जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु



काठमाडौँ, १२ पौष । डडेल्धुराको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रबार राति ८ः३० बजेतिर आलिताल गाउँपालिका–४ जाल्टुडामा म१च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो । सो दुर्घटनामा परी एक जना घाइते भएका छन् ।

परशुराम नगरपालिका–१० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको हो । दुर्घटनामा अछामको पञ्चदेवल नगरपालिका–३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएका छन् । उनको अवस्था गम्भीर भएपछि जोगबुडा अस्पतालबाट थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।

उक्त अटोमा चालकसहित तीन जना सवार थिए । दुर्घटनापछि अटो चालक गोपाल मगर फरार छन् ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।