राजनीति

आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्यव केन्द्र स्थापना



काठमाडौँ, १२ पौष । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन सूचना सम्प्रेषण तथा समन्यव केन्द्र स्थापना गरी आजदेखि सञ्चालनमा ल्याएको छ ।

आयोगले आज एक कार्यक्रम गरी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन आफ्ना सूचना तथा सन्देशहरू आम मतदाता, उम्मेदवार, राजनीतिक दललगायतका सरोकारवाला समक्ष प्रभावकारी तवरले सम्प्रेषण गर्न र सञ्चारमाध्यमसँग नियमित सम्पर्क र सहकार्य अभिवृद्धि गर्न बहादुर भवनस्थित आयोगको कायर्यालयमा निर्वाचन सूचना सम्प्रेषण तथा समन्यव केन्द्र सञ्चालनमा ल्याएको हो ।

उक्त समन्वय केन्द्रको निर्वाचन आयोगका माननीय कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज एक कार्यक्रमका बीच उद्‍घाटन गर्नुभयो । उद्‍घाटन कार्यक्रममा आयोगका माननीय आयुक्त डा. जानकी कुमारी तुलाधर, माननीय आयुक्त सगुन शम्शेर ज.ब.रा, आयोगका सचिव कृष्णबहादुर राउत लगायतको उपस्थिति रहेको थियो ।

निर्वाचन सूचना तथा समन्वय केन्द्रमा समन्वयात्मक रुपमा कार्य गर्ने गरी निर्वाचन सूचना तथा संचार केन्द्र, सूचना सदाचार प्रवर्धन एकाई र विद्युतीय मतदाता शिक्षा एकाइ गरी तीन ओटा एकाइ रहेको आयोगले जनाएको छ ।