Banner News

जेनजीको भावनाअनुरूप मुलुक परिवर्तन गर्नु अहिलेको आवश्यकता हो : मन्त्री खरेल



काठमाडौँ, १३ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पछिल्लो समय सबै राजनीतिक दल निर्वाचनमा होमिएकाले मुलुकमा निर्वाचनको वातावरण बनेको बताएका छन् । 

नेपाल टेलिकम गण्डकी प्रदेश कार्यालयले आज पोखरा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री खरेलले राजनीतिक दल निर्वाचनका लागि तयार रहेको उल्लेख गर्दै देशलाई स्थायित्व दिन समयमै निर्वाचन हुनु अपरिहार्य भएको बताए ।

उनले भने, “यतिबेला मुलुक परिवर्तनको मोडमा छ, मुलुकलाई नयाँ ऊर्जाका साथ समुन्नतिको दिशामा अगाडि बढाउनुपर्छ, जेनजीको भावनाअनुरूप मुलुक र समाज परिवर्तन गर्नु अहिलेको आवश्यकता हो”, ।

उनले दलका नेताको दासका रूपमा नभई विचारका आधारमा नेतृत्व छान्न पनि आग्रह गरे ।

“नयाँ राजनीतिक दलहरू मिल्दै छन्, पुराना दलहरू पनि अब गठबन्धन गर्न सक्छन्, यसले मुलुकमा निर्वाचनको वातावरण बनेको छ, म यहाँबाट चुनावका सन्दर्भमा द्विविधा नराख्न आग्रह गर्दछु, मुलुक चुनावका लागि अगाडि बढिसकेको छ”, उनले भने ।