समाचार

आजको मौसम



काठमाडौँ, १५ पौष । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ। देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।