Banner News

नेकपा एमाले चुनाव पर्खिरहेको छ : अध्यक्ष ओली



काठमाडौँ, १५ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन पर्खिरहेको बताएका छन् ।

आज मदन–आश्रित स्मृति प्रतिष्ठानले काठमाडौँमा गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले जनअनुमोदित नेतृत्वको टिम एमालेसँग रहेको बताएका हुन् । 

एमालेले हालै आफ्नो महाधिवेशनबाट पार्टीको आन्तरिक जीवनमा फैसला दिएको बताएका ओलीले अब निर्वाचनबाट राष्ट्रिय फैसला दिन पार्टी तयार रहेको धारणा राखेका छन् ।

ओलीले भने, ‘जस्तो महाधिवेशनबाट हामीले धेरै कुराहरूको जवाफ दिएका छौं, त्यस्तै निर्वाचनबाट राष्ट्रिय फैसला पनि हामी दिनेछौं । त्यसका लागि हामी तयार छौं भन्ने कुराको सन्देश पनि महाधिवेशनले दिएको छ ।’

उनले देशमा को लोकप्रिय छ भन्ने चर्चा निर्वाचनसम्मै रहने बताए । महाधिवेशनले अर्को जवाफ दिने तयारी गरेको भन्दै ओलीले देशमा को लोकप्रिय छ भन्ने चर्चा चुनावसम्म रहने भन्दै कतिपयले प्रधानमन्त्री नै बनाइसकेको बताए । 

ओलीले भने, ‘हामी चुनाव पर्खिरहेका छौँ । महाधिवेशनबाट धेरै कुराको जवाफ दिएजस्तै अब हुने निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिनेछौँ’, ‘त्यसका लागि हामी तयार छौँ भन्ने महाधिवेशनले सन्देश दिएको छ ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टी(उनेपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच एकतालाई उनले दुब्लाहरूको मोर्चाबन्दीको संज्ञा दिँदै कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर केही नहुने दाबी गरे ।

उनले दुब्लाको काम नै मोर्चा गर्ने भन्दै अरू पनि मोर्चा हुने बताए । ‘घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा सम्भव हुन्छ ?’ओलीले प्रश्न गर्दै भने । 

फरक प्रसंगमा उनले लोकतन्त्र कसैले पराजित गर्न नसक्ने जिकिर गरे । ‘लोकतन्त्र अजेय छ, अपराजय छ । यसलाई कसैले पराजित गर्न सक्दैन । यसलाई कसैले जित्न सक्दैन । लोकतन्त्रले नै जित्छ,’ उनले भने ।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भावी प्रधानमन्त्रीका लागि भएको सहमतिप्रति पनि व्यंग्य गरे ।

‘प्रधानमन्त्री बनाइसके मान्छेले । हामी चुनाव पर्खिरहेका छौं,’ उनले भने, ‘कहिले होला, फागुन २१ मा होला । या वैशाखमा होला । या अर्को मंसिरमा होला । हामी चुनाव पर्खिरहेका छौं ।’