एजेन्सी, १७ पौष । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनसँग ताइवानको एकीकरण कसैले रोक्न नसक्ने बताएका छन् ।
नयाँ वर्षको आफ्नो सम्बोधनमा उनले देशको बढ्दो रक्षा क्षमताको उल्लेख गर्नुका साथै ब्रह्मपुत्र नदीमा विश्वकै सबैभन्दा ठूलो बाँध निर्माणबारेमा पनि प्रकाश पारेका छन् ।
सी चिनफिङले नयाँ वर्ष २०२६ को अवसरमा बुधबार राष्ट्रका नाममा दिएको सन्देशमा ताइवान सामुद्रिक जलमार्गको दुवै छेउमा बस्ने चिनियाँहरूबीच रगतको सम्बन्ध रहेको उल्लेख गरेका छन् । उनले मातृभूमिको पुनःएकीकरण समयको माग भएको र यसलाई कसैले रोक्न नसक्ने बताए ।
सीको यो भनाइ यस्तो समयमा आएको हो, जब पछिल्ला तीन दिनदेखि चिनियाँ सेनाले स्वशासित द्वीप ताइवान वरिपरि ठूलो स्तरमा सैन्य अभ्यास तीव्र पारेको छ । चीनले ताइवानलाई आफ्नो मुख्य भूभागको हिस्सा मान्छ ।
चीनले वायुसेनाका नवीनतम लडाकु विमान, विमानवाहक पोत, क्षेप्यास्त्र र ड्रोनहरूको सहायतामा ताइवानमाथि कब्जा गर्ने सैन्य अभ्यास गरेको सन् २०२२ पछि यो छैटौँ पटक हो । आफ्नो सम्बोधनमा ७२ वर्षीय सीले अर्थतन्त्र, रक्षा र प्रविधिका क्षेत्रमा बेइजिङको प्रगतिको पनि चर्चा गरेका छन् ।
उनले ब्रह्मपुत्र भनिने यारलुङ त्साङ्पो नदीको तल्लो भागमा जलविद्युत् परियोजनाको निर्माण सुरु भइसकेको जानकारी दिए । चीनले वातावरणीय दृष्टिले संवेदनशील तिब्बत क्षेत्रमा बाँधको औपचारिक निर्माण सुरु गरेको छ ।
अरुणाचल प्रदेशको सीमानजिक ब्रह्मपुत्र नदीमा १७० अर्ब डलर लागतमा निर्माण भइरहेको यो बाँधले भारत र बंगलादेशका तल्लो क्षेत्रहरूमा बाढीको जोखिम बढाएको बताइएको छ ।
सीले विद्युतीय चुम्बकीय प्रक्षेपक प्रणालीयुक्त चीनको पहिलो विमानवाहक पोतको सञ्चालनबारे पनि उल्लेख गरे । ‘फुजियान’ नामक यो पोत अमेरिकाको यूएसएस जेराल्ड आर. फोर्डपछि विश्वको दोस्रो यस्तो विमानवाहक पोत हो ।
उनले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा चीनले हासिल गरेको प्रगतिको पनि चर्चा गरेका छन् । त्यस अवसरमा ह्युमानोइड रोबोटहरूले कुङ–फु किक प्रदर्शन गरेका थिए भने ड्रोनहरूले आकर्षक लाइट शो प्रस्तुत गरेका थिए ।
हाल चीनको अर्थतन्त्र करिब पाँच प्रतिशतको कमजोर आर्थिक वृद्धिदरसँग जुधिरहेको छ । निर्यातमा बढी निर्भर रहेको छ । अर्थतन्त्रबारे सीले यस वर्ष चीनको घरेलु उत्पादन (जीडीपी) २० ट्रिलियन डलर नाघ्ने दाबी गरे । उनले भने, “हाम्रो अर्थतन्त्र निरन्तर नयाँ उचाइ हासिल गरिरहेको छ । यस वर्ष यो १४० ट्रिलियन युआन (करिब २० ट्रिलियन डलर)सम्म पुग्ने अपेक्षा छ ।” द इकोनोमिक्स टाइम्स










प्रतिक्रिया दिनुहोस्