राजनीति

सर्वदलीय सरकार बन्ने सम्भावना छैन : संयोजक प्रचण्ड



काठमाडौँ, १९ पौष । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले अब देशमा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको दाबी गरेका छन् ।

प्रेस सेन्टरले शनिबार खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले संसद् पुनःस्थापना पनि नहुने स्पष्ट पारे । वर्तमान राजनीतिक निकासको एकमात्र विकल्प निर्वाचन भएको उल्लेख गर्दै दाहालले सबै राजनीतिक दल अब निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन हुने दाबी गरे । निर्वाचन यही सरकारले सम्पन्न गराउने उनले बताए ।

उनले जनताबाट नयाँ जनादेश लिएर प्रतिनिधिसभा गठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै वर्तमान राजनीतिक संकटको समाधान पनि त्यही बाटोबाट सम्भव हुने बताए । दाहालले युवा पुस्ता, विशेषगरी ‘जेनजी’ पनि निर्वाचनको पक्षमा रहेको दाबी गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न चुनाव अपरिहार्य रहेको बताए। उनले निर्वाचन सफल पारेर राजनीतिक स्थायित्व, समृद्धि र समावेशी लोकतन्त्रको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।