राजनीति

रास्वपाको समानुपातिक सूचीमा चौतर्फी आलोचना: नाम फिर्ता लिनेको संख्या बढ्दै



काठमाडौँ, १९ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीमा समावेश व्यक्तिहरूले नाम फिर्ता लिने क्रम बढेको छ ।

प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आशिफ शाह र उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा विभिन्न क्षेत्रका चर्चित अनुहार पनि समेटिएका थिए । पार्टीभित्र र बाहिर नातावाद तथा पारिवारिक सम्बन्धलाई लिएर आलोचना चर्किंदै आएको थियो । सोही पृष्ठभूमिमा चारै जनाले सूचीबाट नाम हटाउने निर्णय गरेको बताएका छन् ।