काठमाडौँ, १९ पौष । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले त्रिवेणी-दुम्कीवास सडक तत्काल खोल्नका लागि प्राविधिक काम अघि बढाउन मातहातका कर्मचारीलाई निर्देशन दिएका छन् ।
आज बिहान त्रिवेणी-दुम्कीवास जोड्न सडक सञ्जाल नहुँदा त्रिवेणीवासीलाई ठूलो समस्या भएको गुनासो गर्न पुगेका स्थानीय सुरज गुरुङको टोलीको कुरा सुनेपछि मन्त्री घिसिङले सडक विभागका महानिर्देक विजय जैसीलाई टेलिफोन गरेर तत्काल काम अघि बढाउन निर्देशन दिएका हुन् ।
पूर्वी नवलपरासी क्षेत्र नम्बर २ मा पर्ने त्रिवेणीधामका बासिन्दा आफ्नो गाउँपालिका कार्यालय पुग्न ४७ किलोमिटर घुमाउरो बाटो लुम्बिनी प्रदेशको सडक हुँदै जानुपर्ने बाध्यता छ । यो बाध्यता अन्त्य गर्न त्रिवेणी-दुम्कीवास सडक खोल्न माग गर्दै निवासमा पुगेका स्थानीयको गुनासो सुनेपछि मन्त्री घिसिङले सडक विभागका महानिर्देशक जैसीलाई काम अघि बढाउन निर्देशन दिएका हुन् ।
गण्डकी प्रदेश सरकारले हरेक वर्ष त्रिवेणी-दुम्कीवास सडक निर्माण गर्ने भन्दै आए पनि काम नभएका कारण स्थानीयको टाेली मन्त्री घिसिङलाई भेट्न शनिबार काठमाडौँ पुगेको हो ।










प्रतिक्रिया दिनुहोस्