राजनीति

बहुमतको निर्णय मान्न बाध्य भएँ : शेखर कोइराला



काठमाडौँ, १९ पौष । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन पक्षधरहरूको भावनासँग सहमत भए पनि संस्थापन पक्षले बहुमतका आधारमा गरेको निर्णयमा विद्रोह गरेर जान नसकिएको बताएका छन् ।

काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिसहितका नेता–कार्यकर्ताहरूसँग शनिबार विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको छलफलमा उनले केन्द्रीय कार्यसम्पादन समितिले बहुमतको आधारमा गरेको निर्णयमा विद्रोह गर्न नसकिएको बताएका हुन् ।

उनले छलफलमा भनेका छन्, ‘विशेष महाधिवेशनको भावनासँग म सहमत छु । हस्ताक्षरकर्ताहरूको भावनासँग मेरो भावना जोडिएको छ । तर, केन्द्रीय कार्यसम्पादन समितिमा जुन बहुमतको निर्णय छ, त्यो मान्न बाध्य छौं,’ ‘निर्णयमा विद्राह गरेर जान सकिएन । निर्णय प्रक्रियामा बहुमतको निर्णय त मान्नै पर्‍यो ।’

नेता कोइरालाले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका नेता–कार्यकर्ताहरूको भावना सम्बोधनका लागि केन्द्रीय कार्यसमितिलाई ‘कन्भिन्स’ गराउन खोजे पनि सफल हुन नसकेको पनि बताए ।