काठमाडौँ, २० पौष । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मदुरोको अपहरणको भर्त्सना गरेका छन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै नेता खनालले अमेरिकी ट्रम्प प्रशासनको डेल्टा फोर्सले १५० लडाकु विमान प्रयोग गरी भेनेजुएलामाथि ‘नाङ्गो र क्रुर’ हमला गरेको दाबी गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन र घोर अपराधपूर्ण कार्य भनेका छन् ।
नेता खनालले जारी गरेको विज्ञप्तिमा अमेरिकी आक्रमणबाट भेनेजुएलाका कैयौँ निर्दोष नागरिक र सैनिकको हत्या भएको तथा सैन्य संरचना ध्वस्त पारिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘भेनेजुएलाका निर्वाचित र वैधानिक राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसलाई जबरजस्ती अपहरण गरेर अमेरिका पुर्याइएको छ । यो भेनेजुएलाको सार्वभौमसत्तामाथिको प्रहार र लज्जास्पद कार्य हो ।’
अमेरिकाले भेनेजुएलाको विशाल तेल भण्डार कब्जा गर्न र लुट्नका लागि लामो समयदेखि षड्यन्त्र गरिरहेको खनालको आरोप छ । मदुरो सरकार अमेरिकाको बाटोमा अवरोध बनेकाले ‘ूड्रग ट्राफिकिङ’ को झुटो र नक्कली बहाना बनाएर यो आक्रमण गरिएको दाबी विज्ञप्तिमा गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्