Banner News

स्वतन्त्र लडेको भए महासचिवमा मेरै पक्षमा परिणाम आउन सक्थ्यो हाेला : नेता ज्ञवाली



काठमाडौँ, २० पौष । नेकपा एमालेका नेता प्रदीप ज्ञवाली केही दिनअगाडि भएको एमाले महाधिवेशनमा स्वतन्त्र रुपमा आफु चुनाव लडेको भए महासचिवमा आफ्नै पक्षमा परिणाम आउन सक्न बताएका छन् । 

एमाले महाधिवेशनमा उनले केन्द्रीय सदस्यमा मात्रै चुनाव लडे । केन्द्रीय सदस्यमा भारी मतले चुनाव जितेका उनी महासचिवमा आकांक्षी थिए । संस्थापन ओली पक्षबाट महासचिवमा शंकर पाेखरेल नै दाेहाेरिएपछि उनलाई उपाध्यक्षमा राखिएको थियो । यद्यपि उनले शक्तिशाली महासचिव पद छाडेर उपाध्यक्षमा चुनाव लड्न मानेनन् । त्यसपछि उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए ।

आज प्रेस चाैतारी गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै नेता ज्ञवालीले एमालेलाई बलियो बनाउनुपर्छ भन्नेमा मात्रै आफ्नो ध्यान रहेको बताए । उनले भने, ‘स्वतन्त्र रुपमा चुनाव लडेको भए महासचिवमा मेरो नै पक्षमा परिणाम आउन सक्थ्यो हाेला,’ ‘मैले त्यो बाटाे नराेजेर पार्टी बलियो बनाउने बाटो राेजेकाे हुँ ।’

उनले एमाले महाधिवेशनका क्रममा आफ्ना तस्बिर एआईबाट सिर्जित गरेर भ्रम सिर्जना गरेको पनि बताए । उनले त्यसपछि पुनः त्यही प्रसंगमा समग्र राष्ट्रकाे संकटकाे अगाडि पार्टीको समस्या पनि सानो हुने बताए । उनले भने, ‘पार्टी बलियो बनाउने मिसनमा व्यक्तिको आकांक्षा त्यो भन्दा पनि सानो हो ।’