एजेन्सी, २१ पौष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेतालाई नियन्त्रणमा लिएपश्चात् कोलम्बियाका समकक्षी गुस्तावो पेट्रोलाई धम्की दिएका छन् । क्युबाको सरकार पनि चाँडै ढल्ने सम्भावना रहेको उनले बताएका छन् ।
आइतबार साँझ एयर फोर्स वन विमानमा पत्रकारसँग ट्रम्पले यस्तो बताएका हुन् । “कोकिन (लागुऔषध) बनाउन र अमेरिकालाई बेच्न मन पराउने बिरामी व्यक्तिले सञ्चालन गरेको भेनेजुएला धेरै बिरामी छ । कोलम्बिया पनि धेरै बिरामी छ र उसले अब लामो समयसम्म यसो गर्ने छैन । म तपाईंहरूलाई भन्छु,” ट्रम्पले भने ।
कोलम्बियामा अमेरिकी ‘अपरेसन’को अर्थ के हो भनेर प्रश्न गर्दा ट्रम्पले भने, “मलाई राम्रो लाग्छ ।”
उनले क्युबामा अमेरिकी सैन्य हस्तक्षेप निश्चित रहेको बताए । त्यो देश आफैँ ढल्न तयार देखिएको उनले टिप्पणी गरे ।
“क्युबा ढल्न तयारजस्तो देखिन्छ । उनीहरूले कसरी सम्हाल्न सक्छन्, मलाई थाहा छैन । तर, क्युबामा अहिले कुनै आय छैन । उनीहरूको सबै आय भेनेजुएलाबाट, भेनेजुएलाको तेलबाट आउँथ्यो,” ट्रम्पले भने ।
उनले अगाडि भने, “उनीहरूले केही पनि पाएका छैनन् । क्युबा साँच्चै खस्न तयार छ । र, तपाईंसँग धेरै उत्कृष्ट क्युबाली–अमेरिकीहरू छन्, जो यसबाट धेरै खुसी हुनेछन् ।”
अमेरिकी सेनाले काराकासमा आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अपहरण गरी हिरासतमा लिएको एक दिनपछि ट्रम्पले यस्तो बताएका हुन् । भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नी सिलिया फ्लोरेसलाई अब न्युयोर्कमा लागुऔषधसँग सम्बन्धित अभियोगमा अदालतमा हाजिर गराइनेछ ।
ट्रम्पले भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरे पनि त्यहाँ अमेरिका कार्यकारी प्रमुख रहनेमा जोड दिए । यदि, यस्तो कार्य स्वीकार नगरिए अमेरिकी सेना फेरि भेनेजुएलामा पठाउने धम्की उनले दोहोर्याए ।
ट्रम्पले पश्चिमी गोलार्धमा अमेरिकी उपस्थिति विस्तार र १९औँ शताब्दीको मोनरो सिद्धान्त (मनरो डक्ट्रिन)लाई पुनर्जीवित गर्ने महत्त्वाकांक्षा लुकाएका छैनन्, जसले ल्याटिन अमेरिका अमेरिकी प्रभाव क्षेत्रमा पर्ने भन्छ ।
ट्रम्पले आफ्नो २१औँ शताब्दीको संस्करणलाई ‘डन–रो सिद्धान्त’ भनेका छन् । अलजजिराबाट ।










प्रतिक्रिया दिनुहोस्