समाचार

यूके पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ



काठमाडौँ, २१ पौष । वैदेशिक रोजगारीमा यूके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा दाङ राप्ती गाउँपालिका १ बस्ने प्युठान, प्युठान नगरपालिका ९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौँ स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका ५ घर भएका ४० वर्षीय आईते तामाङ र काठमाडौँ महानगरपालिका १५ बस्ने ३४ वर्षीय विजय गुरूङ छन् ।

पक्राउ पर्नेमध्ये इन्द्र र आइतेले यूके पठाइदिन्छु भन्दै सातजना पीडितबाट १३ लाखरुपैयाँ र विजयले पनि यूके नै पठाइदिने भन्दै एकजना पीडितबाट पाँच लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । 

पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।