समाचार

कारको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु



बुटवल, २२ पौष । बुटवलमा ड्युटीमा खटिएका एक ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल धागो कारखाना अगाडिको सडकमा चेकजाँचमा खटिएका ट्राफिक प्रहरी सहायक हबलदार नागेश्वर पाललाई बागमती प्रदेश १–००३ च ००७७ नं. कारले सोमबार अपराह्न सवा चार बजेतिर ठक्कर दिएको थियो ।

उनलाई तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चार बजेर ३८ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

ट्राफिक प्रहरीलाई ठक्कर दिने कारका चालक गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं १ बस्ने ५६ वर्षीय जितेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।