कपिलवस्तु, २२ पौष । नेकपा (एमाले)का पूर्वकेन्द्रीय सदस्य एवं कपिलवस्तुबाट चारपटक संघीय सांसद जितेका नेता बृजेश कुमार गुप्ताले पार्टी परित्याग गरेका छन् ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले युवा विद्यार्थीको सुशासन लगायतका जायज मागलाई नजर अन्दाज गरेर आन्दोलनमा दमन गरेको, दुई ठूला दल मिलेर जे गरेपनि हुन्छ भन्ने दम्भ देखाएको र एमाले नेतृत्व सुध्रिने लक्षण नदेखेपछि पार्टी परित्याग गरेको गुप्ताले बताएका छन् ।
पूर्वसंघीय मन्त्री समेत रहेका गुप्ताले एमालेको नेतृत्वको मुख्य ध्यान नै भ्रष्टाचारलाई संरक्षण गर्ने देखिएको आरोपसमेत लगाएका छन् । गुप्ताले आफू भारतमा रहेकै बेला पार्टीबाट राजीनामा दिएको र महाधिवेशनमा पनि नगएको बताए । राजनीति नै गर्ने भएकाले अब कुन दलमा जाने भन्नेबारे आफ्नो क्षेत्रका मतदाता र शुभेच्छुकसँग सल्लाह गरिरहेको गुप्ताले बताए ।
गुप्ताले २०५६ र २०७४ मा प्रतिनिधि सभा सदस्य तथा २०६४ र २०७० मा दुईपटक संविधान सभा सदस्यमा जितेका थिए । सुरुमा राप्रपा, त्यसपछि तमलोपा र दुईपटक एमालेबाट सांसद जितेका थिए । पाँचौ पटक २०७९ को चुनावमा भने भने कांग्रेस नेता सुरेन्द्रराज आचार्यसँग झिनो मतले पराजित भएका थिए ।










प्रतिक्रिया दिनुहोस्