समाचार

सानी भेरी नदीमा डुबेर युवकको मृत्यु



काठमाडौँ, २२ पौष । रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ धपेस्थित सानी भेरी नदीमा माछा मार्न थापेको पासो तान्ने क्रममा एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार मृत्यु हुनेमा सोही गाउँपालिका–८ लम्पाकोटका २० वर्षीय लक्ष्मण नाथ रहेका छन् ।

सानी भेरी नदीको किनारबाट करिब ३०० मिटर पश्चिम ढुङ्गाको कोचमा अड्किएको अवस्थामा नाथको शव फेला परेको हो । शव मृत अवस्थामा फेला परेपछि प्रहरी टोलीले नदीबाट बाहिर निकालेको हो ।

प्रारम्भिक अनुसन्धानअनुसार माछा मार्न थापिएको पासो तान्ने क्रममा नदीमा चिप्लिएर बग्दा उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।