राजनीति

उदयपुरको सामुदायिक वनका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ, २२ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको जागृति सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र लेखापरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आज विशेष अदालत काठमाडौँमा त्रियुगा नगरपालिका-१ मा रहेको जागृति महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखापरीक्षकको मिलेमतोमा सरकारी रकम हिनामिना गरेको आरोपमा मुद्दा दर्ता गरेको हो ।
 
अख्तियारले वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष मीनाकुमारी चौधरी, सचिव जानकी कुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी थारु र लेखापरीक्षक तनुक लाल चौधरीविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूमाथि संस्थाको ५ लाख १५ हजार ३०२ रुपैयाँ ५८ पैसा हिनामिना गरेको आरोप छ ।

उनीहरूमाथि आर्थिक वर्ष २०७७/०७८ मा सामुदायिक वनको भवन निर्माणमा प्राविधिक प्रतिवेदन अनुसार ४ लाख ९५ हजार खर्च भएकोमा लेखापरीक्षणमा ८ लाख ८ हजार खर्च देखाई ३ लाख १३ हजार रुपैयाँ हिनामिना गरेको, साधारणसभाबाट २ लाख ३७ हजार अनुमोदन भएकोमा ३ लाख ५४ हजार खर्च देखाई १ लाख १६ हजार हिनामिना गरेको आरोप छ । 
 
यस्तै ग्यास सिलिण्डर वितरणमा ५ लाख ९ हजार खर्च भएकोमा ५ लाख १६ हजार देखाई ७ हजार बढी रकम हिनामिना गरेको, हुँदै नभएको सडक ग्राभेलको काम भएको भनेर ७७ हजार ६०० रुपैयाँ हिनामिना गरेको पनि अभियोग लगाइएको छ । यस्तै उपभोक्ता समूहका लेखापरीक्षक तनुकलाल चौधरीले नभएका कामलाई पनि भएको भनेर गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गर्न सघाएको अख्तियारको ठहर छ ।

अख्तियारले तत्कालीन अध्यक्ष मीनाकुमारी, सचिव जानकी र कोषाध्यक्ष निलमलाई ५ लाख १५ हजार ३०२ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल उपरको मागदाबी गरेको छ । लेखापरीक्षक तनुकलाललाई पनि गलत प्रतिवेदन पेस गरेको कसुरमा कैद र जरिवानाको माग गरिएको आयोगले जनाएको छ ।