काठमाडौँ, २२ पौष । गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिमको मूल्यांकनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षासम्बन्धी सूचना संकलन, विश्लेषण, मूल्यांकन गरी शान्ति सुरक्षालाई भरपर्दो र मजबुत बनाउन प्रदेशका कर्मचारी नेतृत्व तथा सुरक्षा अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका छन् ।
आज गृहमन्त्री अर्यालको अध्यक्षता तथा गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा विद्यमान सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सातै प्रदेशका प्रमुख सचिव तथा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवहरू र सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिबीच भएको छलफलका क्रममा मन्त्री अर्यालले सम्बन्धित निकायलाई सो निर्देशन दिएका हुन् ।
उक्त छलफलमा गृहमन्त्री अर्यालले, कानुनले दिएको अधिकार, व्यवहार र हाम्रा असल अभ्यासलाई समेत मनन गरी कर्मचारी र सुरक्षा निकायको मनोबल उच्च बनाई निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश प्रमुख सचिव तथा सचिवहरूले निर्वाह गर्नु पर्ने प्रभावकारी भूमिकाका विषयमा जोड दिए ।
सम्पूर्ण कर्मचारीहरूले प्रशासकको भूमिकाभन्दा सहजकर्ता, समन्वयकर्ता एवंम उत्प्रेरकको भूमिका निर्वाह गर्नु अहिलेको आवश्यकता भएको बताए । मन्त्री अर्यालले भने, “तपाईंहरू आफूले प्राप्त गर्नु भएको प्रशासकीय अधिकारलाई र आफ्नो निर्णयको शक्तिलाई बोध गरेर प्रदेश र संघबीच समन्वयात्मक भूमिका खेल्दै निर्वाचनलाई सफल पार्न लागिपर्नुहोस् ।”
सुरक्षा संयन्त्रहरू चुस्त र मजबुत बनाउनुपर्ने धारणा राख्दै गृहमन्त्री अर्यालले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, सहयोग र समन्वय कायम गरी समाजलाई थप गतिशील तथा प्रभावकारी बनाउने विषयमा जोड दिए ।










प्रतिक्रिया दिनुहोस्