काठमाडौँ, २४ पौष । बजारमा चामलको मूल्य घटेको छ ।
अधिकांश खाद्यान्नको मूल्य सामान्य बढेको बेला चामल भने बोरा (२५ केजी) ५०० रुपैयाँसम्म सस्तिएको व्यापारीहरूले बताएका छन् ।
खुद्रा व्यापार संघका अनुसार भर्खरै धान पाक्ने सिजन सकिएको र किसानले धान बिक्री गरिरहेका कारण बजारमा नयाँ चामल प्रशस्त आएकाले मूल्य सस्तो भएको
नयाँ चामल बोरामा २०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म सस्तोमा बिक्री भइरहेको छ । अहिले बजारमा नयाँ जिरा मसिनो चामलको भाउ २५ केजी बोराको १६ सयदेखि १८ सयसम्ममा बिक्री भइरहेको छ । मोटा चामलको भाउ पनि घटेको छ । नयाँ सोना मन्सुली चामल २५ केजीको १५ सय ५० रुपैयाँदेखि १६ सय रुपैयाँ छ ।
अघिल्लो वर्ष यसै अवधिमा बजार जिरा मसिनो चामलको मूल्य १९ सय रुपैयाँदेखि २५ सय रुपैयाँसम्म रहेको थियो । यस्तै सोना मन्सुली चामलको मूल्य १६ सय रुपैयाँदेखि १९ सय रुपैयाँसम्म रहेको थियो । अहिले स्वदेशी उत्पादन बजारमा आउन थालेको र भारतबाट पनि उल्लेख्य मात्रामा धान तथा चामल आयात भएपछि बजारमा भाउ सस्तो भएको व्यवसायीको भनाइ छ । चामल उद्योगीले गत वर्षदेखि नै भारतबाट धान आयात गरी स्टक राखेकाले पनि पर्याप्त मात्रामा धान-चामल उपलब्ध रहेका कारण पनि मूल्य घटेको हुनसक्ने व्यवसायी बताउँछन् ।










प्रतिक्रिया दिनुहोस्