काठमाडौँ, २४ पौष । गृहमन्त्री ओमप्रकाश अर्यालले आफू गृहमन्त्री भइसकेपछि देशमा थप हत्या, हिंसा र आगजनीजन्य घटना हुन नदिएको बताएका छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले आफू गृहमन्त्रीमा आएपछि देशमा हिंसा नभएको, थप आगजनी हुन नदिएको र थप राजनीतिक प्रकृतिको हत्या हुन नदिएको दाबी गरेका हुन् ।
उनले अन्तरिम सरकारले केही गरेन भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्तिसमेत जनाए । परिवर्तनलाई स्वीकार गरे मात्रै द्वन्द्व नदोहोरिने उनको भनाइ थियो ।
उनले भने, “कतिपय परिवर्तनलाई स्विकार्नुपर्छ । परिवर्तनलाई स्वीकार गरे मात्रै द्वन्द्व दोहोरिँदैन । यो कुराको सुनिश्चितता यो सरकारले गरेको छ । अन्तरिम गृहमन्त्री आएपछि केही पनि भएन ? हो, हिंसा भएन । आगजनी रोकियो, मान्छे मर्न छाडे । अरू हत्या, हिंसा हुन छोड्यो, केही पनि भएन ? यस्तो भाष्य पत्याइदिने मान्छेले ? यो भाष्य पत्याइदिनुभएन । विधिको शासन मिचिनुहुन्न । विधिको शासनबमोजिम कारबाही हुनुपर्छ भनेको हुँ । यो कमजोरी हुन्छ । सुशासनको मुद्दाभित्र केके पर्छ, त्यो बुझ्नुपर्छ ।”










प्रतिक्रिया दिनुहोस्