मनोरञ्जन

आजदेखि हलमा ‘दिमाग घोच्ने मान्छे’ र ‘द राजा साब’



काठमाडौँ, २५ पौष । आजदेखि दुई फिल्म हलमा रिलिज भएका छन् ।

नेपालको वैकल्पिक राजनीतिका अगुवा स्वर्गीय उज्वल थापाबारेको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ र प्रभास स्टारर भारतीय फिल्म ‘द राजा साब’ हलमा लागेका हुन् ।

डकुमेन्ट्री जनरामा बनेको ‘दिमाग घोच्ने मान्छे’ को रनटाइम ११० मिनेट र सर्टिफिकेट युनिभर्सल छ । विवेकशिल साझा पार्टीका संस्थापक अध्यक्ष समेत रहेका थापाको जीवन संघर्ष र वैकल्पिक राजनीतिलाई अघि बढाउन उनले खेलेको भूमिकालाई उक्त डकुमेन्ट्रीमा चित्रण गरिएको छ ।

कथानक फिल्म मात्र हलमा चल्ने आमप्रवृत्तिमाझ धेरैपछि वृत्तचित्र हलमा प्रदर्शन भैरहेको छ ।

प्रभास र संजय दत्त स्टारर भारतको हरर, कमेडी रोमान्स जनराको फिल्म ‘द राजा साब’ पनि शुक्रबारदेखि रिलिज भएको छ । मुरथी दसारी निर्देशित फिल्मले एक राजाको कथा पेश गर्छ । पीजी सर्टिफिकेट पाएको यो फिल्मको रनटाइम १८९ मिनेट छ ।

अहिले नेपालका हलमा ‘एक्लो’, झरीपछिको इन्द्रेणी, धुरन्धर, हाउसमेड, परान, अवतार ३ लगायतका फिल्म प्रदर्शन भैरहेका छन् ।