काठमाडौँ, २५ पौष । सरकारसँग डेढ वर्ष (१८.२ महिना) को वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति रहेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवार पछिल्लो पाँच महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै सरकारसँग कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १३ करोड पुगेको छ ।
२०८२ असार मसान्तमा २६ अर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई मङ्सिर मसान्तमा ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा मङ्सिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा चालु आवको मङ्सिर मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई २८ खर्ब ६६ अर्ब ४७ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २६३ अर्ब ४ करोड रहेकोमा मङ्सिर मसान्तमा २७.४ प्रतिशतले वृद्धि भई ३३५ अर्ब कायम भएको छ । मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको छ ।










प्रतिक्रिया दिनुहोस्