Banner News

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन् एजेन्डा



काठमाडौँ, २६ पौष । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजदेखि  सुरु हुने भएको छ ।

पौष ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६,२७ र २८ गतेलाई तय गरेको थियो । बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुने छ । 

बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा छलफल हुनेछ । यसअघि सचिवालयले प्रदेश संयोजनको जिम्मेवारीसहित जिल्ला संयोजनको काम टुङ्ग्याएकाले तीसँग सम्बन्धित विषय अनुमोदन हुने बताइएको छ । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा निर्वाचन परिचालन समिति, अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा घोषणा पत्र मस्यौदा समिति बनाइसकेको छ ।

यसका अतिरिक्त एमालेले अघिल्लो केन्द्रीय कमिटी बैठकले पार्टीमा चुनाव हारेका, पाका र कार्यकारी भूमिकाबाट अलग भएकाहरूसमेत समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ । केन्द्रीय समितिले उक्त परिषद् गठन गर्नेछ ।