Banner News

मेरो उद्देश्य कांग्रेसको समग्र एकता र रूपान्तरण मात्र हो : डा.शेखर कोइराला



काठमाडौँ, २७ पौष । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशमा विद्यमान राजनीतिक अस्थिरतालाई चिर्न र संविधानको रक्षा गर्न पार्टीको आन्तरिक एकता आवश्यक रहेको बताएका छन् ।

आज एक भिडियो सन्देश जारी गर्दै जेनजी आन्दोलनपछि बनेको वर्तमान राजनीतिक परिस्थिति र अनिर्वाचित सरकारका कारण संविधान ‘क्षतविक्षत’ भएको उल्लेख गर्दै डा.कोइरालाले लोकतन्त्र जोगाउन कांग्रेसभित्र भावनात्मक एकता आवश्यक रहेको बताएका हुन् । 

आगामी निर्वाचन र पार्टीको विशेष महाधिवेशनको सन्दर्भलाई जोड्दै डा.कोइरालाले भदौ २४ देखि २७ गतेसम्मको अराजक स्थितिलाई स्मरण गराए । ‘मलाई मन्त्री वा महामन्त्री हुने लोभले कहिल्यै आकर्षित गरेन, यस्ता अवसरहरू आउँदा पनि मैले रुचि देखाइनँ,’ डा.कोइरालाले भिडियोमा भनेका छन्, ‘सभापति र प्रधानमन्त्री हुने कुराले पनि मलाई लोभ्याउँदैन । मेरो उद्देश्य कांग्रेसको समग्र एकता र रूपान्तरण मात्र हो ।’

उनले बीपी कोइरालाको ‘मेलमिलापको नीति’ अहिले झनै सान्दर्भिक भएको बताए । उनले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली र अर्कोतिर युवाहरूको चर्को असन्तोषको बिचमा रहेर आफूले सन्तुलन कायम गर्ने प्रयास गरिरहेको भिडियोमा बताएका छन् । उनले भने, ‘मलाई थाहा छ कांग्रेस सङ्क्रमणमा पर्दा कसरी त्याग र अपमान सहनुपर्छ । म ती सबै सहेर पनि कांग्रेसजनको भावनात्मक एकताका लागि लागिरहनेछु ।’