काठमाडौँ, २८ पौष । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भूराजनीतिक स्वार्थका सामु झुक्नु दासता भएको र त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमानको प्रतीक भएको बताएका छन् ।
देश, संविधान र लोकतन्त्र नै सङ्कटमा परेको अवस्थामा उत्सव मनाउने सोचप्रति प्रश्न उठाउँदै उनले त्यसलाई नैतिक विचलनको संज्ञा दिएका छन् ।
कांग्रेस महामन्त्री गगन थापाले एमालेतिर लक्षित गर्दै कांग्रेसमा कोही बा छैनन् र बा ले नबोल भन्दैमा नबोल्ने कांग्रेस होइन भन्दै दास र लासहरुको पार्टी नभएको बताएका थिए । त्यसप्रति महासचिव पोखरेलले जवाफ दिएका हुन् ।
महासचिव पोखरेलले भनेका छन्, ‘भूराजनीतिक स्वार्थका सामु लम्सार पर्नु दासता हो, त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो। विध्वंस, अराजकता र आतङ्कका सामु झुक्नु कायरता हो,त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो। संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै सङ्कटमा परेको बेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र ?’
पोखरेलले विध्वंस, अराजकता र आतङ्कका सामु आत्मसमर्पण गर्नु कायरता भएको उल्लेख गर्दै त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु नै वास्तविक साहस भएको तर्क गरेका छन् ।
उनले केही समूहले यस्तो प्रतिरोधलाई ‘दासता’ भनेर व्याख्या गरिरहेकोप्रति कटाक्ष गर्दै भने, ‘देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि दास जस्ता देखिन सक्छन्। तर ती तथाकथित दासहरू नै आजका स्पार्टाकस हुन सक्छन्।’










प्रतिक्रिया दिनुहोस्