Banner News

उपाध्यक्ष श्रेष्ठलाई मन्त्रालयद्वारा कारवाही गर्न निर्देशन, राखेप मौन



काठमाडौँ, २८ पौष । ‘सवल राष्ट्र निर्माणको लागि स्वस्थ युवा, स्वस्थ युवाको लागि खेलकुद’ हुनुपर्छ । जुन ‘स्वास्थ्यका लागि खेलकुदमात्र नभई अब राष्ट्रका लागि खेलकुद’ हुनुपर्छ भन्ने विश्वको मान्यता स्थापित भइसकेको छ । खेलकुद क्षेत्रमा ‘समस्या हैन, सम्भावना’ छ भन्ने कुरालाई उजागर गर्दै त्यसलाई नेतृत्व गर्न सक्ने संगठनको रुपमा एक महत्वपूर्ण जिम्मेवारी लिएको नेपाल बक्सिङ संघ पनि हो । खेलाडीहरुका माझ खेलकुदको प्रवद्र्धन र विकासका लागि चासो जगाउन, आर्थिक सशक्तीकरण गर्न, सामाजिक÷संघसंस्थाको अनेकतालाई एकताको सुत्रमा बाँध्ने, युवालाई विदेश पलायन रोक्न, युवालाई खेलकुदमा जोड्न, खेलाडीहरुको सीप विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा अब्वल स्थान कायम गराउने जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद् नेपालको हो, त्यसको सारथीको रुपमा बक्सिङ संघ हो । जसले नेपालको राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतालाई विश्व सामु शीर ठाडो पारेर उभ्याएको हुन्छ, हुनुपर्छ ।

बक्सिङ संघका उपाध्यक्ष श्रेष्ठले झुकाए नेपालको शीर

नेपाल बक्सिङ संघका उपाध्यक्षले गम्भीर रुपमा राष्ट्रिय अखण्डता र सार्वभौम सत्तालाई चुनौति दिएको पाइएको छ । १५–२० नोभेम्बर २०२५ मा भारतीय बक्सिङ फेडेरेसनको आयोजनामा भएको ‘वल्र्ड बक्सिङ च्याम्पियनसीप’ कार्यक्रममा नेपालको तर्फबाट उपाध्यक्ष किरणबहादुर श्रेष्ठलाई भारतको एक प्रान्तको रुपमा निमन्त्रणा गरेको थियो । भारले नेपाललाई प्रान्तको रुपमा सम्बोधन गरी पठाएको पत्रमा नामनै तोकेर उपाध्यक्ष श्रेष्ठलाई निमन्त्रणा गरेर थियो ।

उक्त कार्यक्रममा भारतीय बक्सिङ फेडेरेसनले जम्मा ३४ वटा टीमका नेतृत्वलाई आतिथ्यता ग्रहणको निमन्त्रणा गरेको थियो । जसमा आफ्ना ३३ वटा जिल्ला तथा प्रदेशस्तरीय प्राविधिक टिमलाई निमन्त्रणा गरेको थियो भने एक नेपाललाई गरेको थियो । उक्त निमन्त्रणामा उपाध्यक्ष श्रेष्ठलाई सम्बोधन गरी भारतीय प्रान्तको रुपमा निमन्त्रणा गरेको थियो । जसमा उपाध्यक्ष श्रेष्ठले सहभागिता जनाएको पाइएको छ । नेपाललाई भारतको प्रान्तको रुपमा निमन्त्रणा गरेको र त्यसलाई नेपाल बक्सिङ संघको कार्यसमितिमा समेत छलफल नै नगरी उपाध्यक्ष श्रेष्ठले सुटुक्क कार्यक्रम सहभागिता जनाए । उपाध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी संहालेका व्यक्तिले किन राष्ट्र हित गरे ? नेपालको सार्वभौम सत्तालाई किन लत्याए ? राष्ट्रिय अखण्डताविरुद्ध किन लागे ? जस्ता गम्भीर प्रश्नहरु उब्जिएका छन् । उनको व्यवहारले राष्ट्रको अधिकार कमजोर बनाउने गम्भीर खेल खेलेको पाइएको छ । उनले संविधानको मर्मविपरित कार्य गरी सार्वभौम अधिकार कुण्ठित गरेका छन् भने नेपाल माथि भारतीय हस्तक्षेपलाई पस्रय दिएका छन् ।

मन्त्रालयद्वारा कारवाहीको निर्देशन : राखेप मौन

सोही मुद्धामा बक्सिङ खेलप्रेमीले युवा तथा खेलकुद मन्त्रालयमा २०८२ पौष ८ गते उपाध्यक्ष श्रेष्ठलाई तत्काल कारवाहीको माग गर्दै निवेदन दिए । मन्त्रालय तथा सम्बन्धित निकायमा निवेदन दिएता पनि सुनुवाई नभएको खेलप्रेमीहरुले गुनासो गरेका छन् । उक्त प्रकारको कार्यले खेलाडीको शीर झुकेको गुनासो गरे । विर पुर्खाहरुले बचाएको देशको खेलाडी भनेर शीर ठाडो पार्दे हिड्नु पर्नेमा नेतृत्वको स्वार्थका कारण खेलाडीले शीर निहुराएर हिड्नु परेकाले तत्काल कानुनी कारवाहीको माग गरे ।

खेलकुद मन्त्रालयले उक्त कार्यहरुको प्रमाणहरु संकलन गर्दा प्रमाणित भएकाले उपाध्यक्ष श्रेष्ठलाई कारवाहीको लागि पौष ११ गते राखेपलाई पत्राचार गर्यो । तर उक्त मन्त्रालयको पत्रलाई लुकाउँदै राखेपले उपाध्यक्ष श्रेष्ठलाई कारवाही नगरी संरक्षण गरेको पाइएको छ ।

यस सवालमा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले भने आफुलाई उक्त घटनाको बारेमा जानकारी आएको बताए । मन्त्रालयको निर्देशनात्मक पत्रबारे प्रष्ट नभएपनि खेलप्रेमीहरुको उजुरीको आधारमा कानुनी प्रकृया अगाडी बढ्ने बताए । उनले भने, ‘भारतीय बक्सिङ फेडेरेसनले भुलबस् हो कि नियतबस् हो ? भन्ने यसै भन्न सकिदैन । तर उपाध्यक्षज्यूको नाम नै तोकेर गरेको निमन्त्रणा पत्रको अर्थ हाम्रो देशको विरुद्धमा देखिन्छ । यो एक प्रकारको राज्यद्रोह नै मान्न सकिन्छ । यस्तो कमजोरी गर्नु हुँदैन । देश र जनताभन्दा आतिथ्यता ठूलो हुन सक्दैन । जानेर होस्, वा नजानेर होस्, उहाँले कमजोरी गर्नुभएको छ । तथ्य प्रमाण हेर्दा उहाँले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय सार्वभौमिकताको विरुद्धमा देखिन्छ । केही दिनमा नै राखेपको औपचारीक बैठक बस्छ र मन्त्रालयको निर्देशन अनुसार आवश्यक निर्णय गर्छ र निर्णय कार्यन्वयन हुन्छ । कानमा तेल हालेर बस्दैन ।’

अध्यक्षलाई छुट्टै निमन्त्रणाः नेपाललाई देशकै रुपमा सम्बोधन

उक्त कार्यक्रममा अध्यक्ष राम अवालेलाई भने नेपाल बक्सिङ फेडेरेसनकै सम्बोधनमा निमन्त्रणा पत्र आएको थियो । सो निमन्त्रणा अनुसार नै उनी पनि कार्यक्रममा सहभागिता जनाएका थिए । उनले पनि कार्यसमितिको निर्णय नै नगराई गएको पाइएको छ । कुनै पनि विदेशी मुलुकमा हुने प्रतियोगिताको लागि कार्यसमितिले निर्णय गरे अनुसार गर्नुपर्ने व्यवस्था रहेको छ । यसै प्रशंगमा महासचिव मान भण्डारीले त्रुटिपूर्ण निमन्त्रणामा उपाध्यक्ष श्रेष्ठले सहभागिता जनाउनु गम्भीर गल्ती गरेको स्वीकार गरे । उनले भने, ‘पहिलो कुरा विदेशी मुलुकमा हुने कार्यक्रममा आतिथ्यता वा प्रतियोगिता जेसुकै भए पनि कार्यालयलाई औपचारीक जानकारी गराउनुपर्छ । उपाध्यक्षज्यूले सहभागिता जनाउनुभएको कार्यक्रमको सम्बोधन नेपालको सार्वभौमिकता विरुद्ध नै छ । यस्तो कार्यक्रममा उहाँले सहभागिता जनाउनु हुँदैन थियो ।’

गल्ती गर्नेलाई कारवाही हुन्छ कि हुँदैन ? भन्ने प्रश्नमा उनले भने, ‘गल्ती गर्नेले कारवाही भोग्नुपर्छ । तर यस विषयमा अध्यक्ष र उपाध्यक्ष दुवैलाई वास्तविकता केही भनि बुझेका थियौं । तर अध्यक्षज्यूले नै खासै चासो दिनुभएको छैन । किन अध्यक्षज्यूले आफु मातहतका कमिटीका साथीहरुले गल्ती गर्दा साथ दिइरहनुभएको छ ? भन्ने प्रश्न हामीमा नै उठेको छ । अध्यक्षज्यूले भोटको लागि राजनीति गरे जस्तो देखिएको छ । तर राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतभन्दा माथि व्यक्ति हुन सक्दैन । कारवाहीको भागेदार त हुनु नै पर्छ । मन्त्रालयले कारवाहीको निर्देशन दिएको भन्ने जानकारी आएको छ । राखेपले कारवाही गर्ला । जे भएपनि पदमा बसेको व्यक्तिले राष्ट्रद्रोह गर्नु हुँदैन ।’

बक्सिङ संघको संघसंस्था विभाग प्रमुख चन्द्र राईले पनि खेलप्रेमीको निवेदन आएको स्वीकार गरे । उनले भने, ‘केही दिन अघि उपाध्यक्षज्यूको विरुद्धमा उजुरी आएको भन्ने सुनेको छु । तर म सोही दिन पोखरा जानुपरेकाले वास्तविकता के हो ? भन्ने बुझ्न पाएको छैन । आज (हिजो–कुराकानी भएको दिन) विदाको दिन भएकाले अफिस गएको छैन । आफिस गएपछि मात्र बास्तविकता बताउन सक्छु ।’