Banner News

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र पुनः सुरु हुँदै



काठमाडौँ, २९ पौष । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहान ९ बजेबाट पुनः सुरु हुने भएको छ । 

दोस्रो विशेष महाधिवेशन पुस २७ र २८ गतेका लागि आयोजना गरिएको भए पनि समय अभावका कारण कार्यतालिका संशोधन गरिएको हो । सोमबार बन्दसत्र सुरु भएको र विभिन्न प्रतिवेदन उपरको छलफल लम्बिएकाले महाधिवेशनको कार्यतालिका संशोधन गरिएको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले बताए ।  आज नेतृत्व चयनका लागि बन्दसत्र सुरु हुने पनि बताइएको छ । मङ्गलवार निर्वाचन, अनुशासन, केन्द्रीय समिति लगायतका समितिहरू भङ्ग गर्ने कार्यतालिका रहेको छ । 

उनका अनुसार आजसमेत महाधिवेशन प्रतिनिधिहरूको दर्ता निरन्तर रहने छ । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरुको संख्या आइतबार २ हजार ६ सय ६२ रहेकोमा सोमवार ६.२४ प्रतिशतले बढेको बताइएको छ । विशेष महाधिवेशन पक्षधरहरुले महाधिवेशनमा सहभागी भइ हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरुको संख्या ७० प्रतिशत पुर्‍याउने दाबी गरेका छन् । 

यता सस्थापन पक्षलाई पनि सहमतिमा ल्याउने प्रयास जारी छ । यसका लागि सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन आयोजना गरिरहेका नेताबिच आज पनि छलफल हुने भएको छ । वार्तामा विशेष महाधिवेशन गरिरहेका गगन–विश्व समूहबाट प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य सहभागी हुने भएका छन् ।