Banner News

तोकिएकै मितिमा चुनाव गराउनु सरकारको मुख्य दायित्व : गृहमन्त्री अर्याल



काठमाडौँ, ३० पौष । गृहमन्त्री ओमप्रकाश अर्यालले देशमा सुशासन कायम गर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सकारको मुख्य दायित्व रहेको बताएका छन् ।

आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री अर्यालले यो नागरिक सरकार २३ र २४ भदौको घटना पश्चात् देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा वर्तमान सरकार निर्माण भएको र जेनजी पुस्ता र तत्कालीन दलीय सहमतिमै अहिलेको प्रधानमन्त्रीको नेतृत्वमा सरकार गठन भएको बताए ।

उनले भने, ‘यो नागरिक सरकार भएकैले पनि नागरिक र युवापुस्ताको जनभावना अनुरूप सहकार्य र समन्वयमा अघि बढिरहेको छ त्यसैले पनि यो सरकार निष्ठा र इमानदारिताबाट किञ्चित पछि हट्दैन।’

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आजको गोष्ठीले मधेश प्रदेशको समग्र सुरक्षा अवस्था र आगामी निर्वाचनका लागि तय गरिनु पर्ने सुरक्षा रणनीति र निर्वाचन सफल पार्न फलदायी हुने विश्वास व्यक्त गरे।