काठमाडौँ, २ माघ । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को नवौं संस्करण चैत १९ देखि २३ गतेसम्म हुने भएको छ ।
महोत्सवमा दर्शकले पाँच दिनमा ४० देशका ८८ चलचित्र हेर्न पाउनेछन् । ‘विश्वभरका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारालाई निरन्तरता दिँदै आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले यस संस्करणमा युवा पुस्ताको रुचिलाई केन्द्रमा राखेर चलचित्र चयन गरिएको जनाएको छ ।
“हामीले यो पटक युवापुस्ता केन्द्रित चलचित्रलाई प्राथमिकता दिएका छौँ । निफलाई युवामैत्री बनाउने हाम्रो प्रयास रहेको छ,” निफका अध्यक्ष केपी पाठक भन्छन्, “युवा मेकरहरुलाई प्रत्सोहन गर्न हामीले एआई चलचित्र मेकिङको कार्यशालालगायत सेसन पनि राखेका छौँ ।”
यो वर्ष ८० बढी देशबाट ८०० बढी चलचित्रले महोत्सवमा सहभागी हुन आवेदन दिएको पाठकले बताए । विश्व प्रतिष्ठित कान्स, बर्लिन, भेनिस, ट्राइबेका, संघाई, लोकार्नो, बुसान, गोवालगायत चलचित्र महोत्सवमा सहभागी भएका र अवार्ड जितेका फिचर फिल्म, सर्टफिल्म, एआईबाट बनेका चलचित्र र डकुमेन्ट्री गरी ४० देशका ८८ वटा चलचित्र निफले छनोट गरेको हो ।










प्रतिक्रिया दिनुहोस्