काठमाडौँ, २ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन् ।
निर्वाचन आयोगमा आधिकारिकता दाबीका लागि पुगेका कोइरालाले बहुमत केन्द्रीय सदस्यहरू अहिले पनि आफूहरूसँगै रहेको दाबी गरे ।
आयोगमा बोल्दै कोइरालाले आफूहरू यहाँ आउनुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरूले बाध्य बनाएको बताए । उनले निर्वाचन आयोगले पार्टीको आधिकारिकताको विषय लोकतान्त्रिक पद्धतिअनुसार टुंग्याउने विश्वास व्यक्त गरे ।
उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउने अधिकार भए पनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि केन्द्रीय समितिले नै बनाउनुपर्ने विधानमा स्पष्ट व्यवस्था रहेको जिकिर गरे । कुनै पनि पदाधिकारीलाई आफूखुसी विशेष अधिवेशन बोलाउने अधिकार नरहेको भन्दै उनले व्यक्ति नभई संस्थाले गरेको निर्णय नै आधिकारिक हुने दाबी गरे ।
कोइरालाले टुँडिखेलमा गएर कुनै निर्वाचन आयुक्तले उम्मेदवारी दर्ता हुँदैन भन्यो भने त्यो आयोगलाई मान्य नहुने उदाहरण दिँदै गगन थापा समूहको निर्णय वैधानिक नहुने तर्क गरे । उनले आफूहरू संस्था भएको र संस्थालाई हेरेर आयोग अघि बढ्नुपर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्