काठमाडौँ, २ माघ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज बिहान नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ।
भेटका क्रममा तामाङ समुदायको जनसंख्या, संस्कृति, आर्थिक-सामाजिक अवस्था लगायत विषयमा चर्चा भएको थियो।
घेदुङले आउँदो माघ ५ गते सोनाम ल्होसारका अवसरमा काठमाडौँमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउँदै उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई अनुरोध गरेको छ ।
साथै घेदुङका पदाधिकारीहरूले तामाङ समुदायको जनसंख्या ३० लाखभन्दा बढी भए पनि जनगणनामा भएको त्रुटिका कारण १७ लाख हाराहारी मात्र देखिएकोमा प्रधानमन्त्री ध्यानाकर्षणसमेत गराए ।
प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताइन् ।
प्रधानमन्त्रीले भनिन्, ‘मुलुक चुनावमा होमिएको छ। यो चुनाव सामान्य अवस्थाको चुनाव नभई मुलुकलाई निकास दिने र दिगो स्थिरतातिर लैजाने चुनाव हो,’ ‘भदौ २३ र २४ गतेलाई दिमागमा राखौँ । अब बारम्बार यो अवस्था दोहोरिनुहुँदैन । युवाको आकांक्षाअनुरुप हामी चल्नुपर्छ । तपाईँहरू पनि आउँदो चुनावमा नयाँ, युवा र इमानदार सांसद जिताएर संसदमा पठाउनुहोस्। पुरानो मानसिकताले अब देश चल्दैन । पुरानो सोच र शैलीले पनि चल्दैन । अब नयाँ नै आउनुपर्छ, युवा आउनुपर्छ र इमानदार आउनुपर्छ। युवाको भावनाअनुसार शासन चल्नुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्