समाचार

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु



काठमाडौँ, ३ माघ । कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रबार बेलुकी ६ बजे सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२ का नवराज शाही रहेका छन् । मृतक तीनै जना सेरी पान्तडी सडक खन्ने काममा संलग्न थिए ।

भीरबाट तीन वटै शव निकालेर सडकका ल्याएको र परीक्षणका लागि आफन्त बोलाएर सदरमुकाम लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।  गाडी सडकबाट ५०० मिटर तल तिला नदीको किनारामा टुक्राटुक्रा भएको अवस्थामा छ । जिप चालक प्रहरीको सम्पर्कमा आएको तर सोधपुछ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।