एजेन्सी, ३ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इरानका राष्ट्रपति मसूद पेजेस्कियानसँग टेलिफोन वार्ता गर्नुभएको छ ।
इरानमा देशव्यापी सरकारविरोधी प्रदर्शनपछि भएको कडा दमन र त्यसबाट उत्पन्न क्षेत्रीय तनावबारे छलफल गर्न पुटिनले दुवै देशका नेतासँग संवाद गर्नुभएको एएफपीले जनाएको छ ।
इरानमा भईरहेको प्रदर्शनमा सुरक्षाबलको कारबाहीका कारण धेरैको सङ्ख्यामा मानिसको ज्यान गएको खबर बाहिरिएपछि अन्तर्राष्ट्रिय चासो बढेको छ । यसैबीच, इजरायलको प्रमुख सहयोगी अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएपछि स्थिति झनै तनावपूर्ण बनेको छ ।
इरान र इजरायलबीच गएको जुन महिनामा छोटो युद्ध भएको थियो, जसमा इजरायलले इरानका सैन्य र आणविक केन्द्रहरूमा आक्रमण गरेको थियो । त्यो आक्रमणमा केही समयका लागि अमेरिका पनि सहभागी भएको हो । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार अहिले अवस्था निकै संवेदनशील रहेकाले राष्ट्रपति पुटिनले तनाव कम गर्न सक्रिय कूटनीतिक प्रयास जारी राख्नुभएको छ ।
इजरायली प्रधानमन्त्री नेतान्याहुसँगको कुराकानीमा रुसले मध्यस्थताका लागि आफू सधैं तयार रहेको स्पष्ट पारेको छ । यद्यपि, इरानमा भइरहेको प्रदर्शनबारे रुसले कस्तो पहल गरिरहेको छ भन्ने विषयमा भने खुलाइएको छैन । रुस इरानको नजिकको सहयोगी भए पनि इजरायलसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासमा रहेको छ ।










प्रतिक्रिया दिनुहोस्