राजनीति

काँग्रेस रूपान्तरण भयो, अब देशको रूपान्तरण गर्नेछ: महामन्त्री पौडेल



काठमाडौँ, ३ माघ । नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेलले कांग्रेस रुपान्तरण भएकोले अबका दिनमा देशको रुपान्तरण गर्ने जिम्मेवारी लिएर अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।

गगन थापाको समुहलाई निर्वाचन आयोगले मान्यता दिएपछि आफ्नो धारणा सामाजिक सञ्जालमा राख्दै महामन्त्री पौडेलले नेपाली काँग्रेस नयाँ जोश, नयाँ योजना र सुशासनको दृढ संकल्पसहित देशको नेतृत्व लिन पूर्ण रूपमा तयार भएको छ। हामी सबैको साझा प्रयासले काँग्रेसलाई थप गतिशील, जनउत्तरदायी र विधिसम्मत बनाएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभएको छ, ‘अबको काँग्रेस निर्वाचनमार्फत देशको बागडोर सम्हाल्ने र नागरिकको समृद्धिको सपना पूरा गर्नेतर्फ केन्द्रित हुनुपर्दछ। अब हामीले नागरिकलाई भन्नुपर्छ—काँग्रेस रूपान्तरण भएको छ, अब काँग्रेसले देशको रूपान्तरण गर्नेछ ।’

अर्कोतर्फ, मुलुक आम निर्वाचनको संघारमा उभिएको उल्लेख गर्दै उहाँले यसका लागि आम नागरिकले एक सबल, सक्षम, एकताबद्ध र विधिमा चल्ने नेपाली काँग्रेस खोजेको धारणा राख्नुभयो । उहाँले भन्नुभएको छ, ‘हिजो दोस्रो विशेष महाधिवेशनमा नजोडिएका साथीहरू पनि अब संगै सहयात्रा गरौं । हामी हिजो पनि एक थियौँ र भोलि पनि सँगै हुनेछौँ। हामी कसैले पनि हारेको रुपमा महसुस गर्नुपर्ने छैन। सबै मन र मुटुलाई एउटै छातामुनि गोलबद्ध बनाउन हाम्रा तर्फबाट इमान्दार प्रयत्न जारी रहनेछ । अबको यात्रामा, युवा पुस्ता (जेन जी)ले उठाएको आवाजलाई बुलन्द पार्न चारतारे झण्डामुनि हामी सबै गोलबद्ध भएर बदलिएको नीति र नेतृत्वसहित पार्टीलाई अझ सबल र एकताबद्ध बनाउन आ-आफ्नो ठाउँबाट सक्रिय रुपमा सहभागी हुनेछौं। जेनजी पुस्ताका साथीहरुलाई तपाईँले खोजेको रुपान्तरित नेपाल निर्माणको महाअभियानमा हामीसँगै सहकार्यका लागि आह्वान गर्दछौं ।’