काठमाडौँ, ४ माघ । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा रिट दर्ता गरेको छन् ।
सर्वोच्च प्रशासनले रिटको पेसी यही माघ ६ गतेका लागि तोकेको छ । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् । रिटको पेसी आजै तोक्नका लागि आग्रह गरेको भएपनि सर्वोच्च प्रशासनले आजै मुद्दा दर्ता गरेर पेसी तोक्न सम्भव नभएको जानकारी दिएका छन् ।
निर्वाचन आयोगको निर्णयले नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा भाग लिनबाटै वञ्चित हुने अवस्था आउन सक्ने भन्दै कार्यवाहक सभापति खड्कालगायतका नेताले आजै रिट दर्ता गरेर आजै पेशी चढाउन आग्रह गरेका थिए । तर सर्वोच्च प्रशासनले नियमावलीको व्यवस्था कारण आज सम्भव नहुने जवाफ दिएका छन् ।
देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेका छन् । सभापति गगन थापा चुनिएका छन् ।










प्रतिक्रिया दिनुहोस्