काठमाडौँ, ५ माघ । धरान-१३ स्थित जिरोप्वाइन्टमा भएको बस दुर्घटनामा मुत्यु हुनेहरुको पहिचान खुलेको छ ।
आइतबार दिउँसो करिब ४ बजे कोशी राजमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को.१ ख.७११९ नम्बरको टाइम्स इन्टरनेसनल एकेडेमी जनकपुरको बस अनियन्त्रित भएर दुर्घटना भएको थियो । बस न्यु सबा मेडिकलमा ठोक्किएको थियो ।
दुर्घटनामा परेर एक बच्चासहित पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बसमा सवार २ जना र मेडिकलमा रहेका ३ जना गरी ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सबा मेडिकलकी सञ्चालिका धरान-१३ निवासी २४ वर्षीया सुवेक्षा सुब्बा, जिरो प्वाइन्टस्थित गोर्खा फिल्ड क्याम्पमा लाहुरे भर्तीका लागि दुई वर्षदेखि तालिम लिँदै बसेका सुनसरीको बराहक्षेत्र- ३ का ओमेश राई र झापाको मेचीनगरका १९ वर्षीय नयन थापा मगर रहेका छन् ।
यसैगरी, बसमा सवार महोत्तरी गैंडादेवपुर-८ का रोहितकुमार मण्डलका १८ महिने छोरा रिसबकुमार र सोही ठाउँका ३१ वर्षीय धैरियाकुमार यादव रहेका छन् ।
घाइतेहरु धनुषा जनकपुर-१२ की २५ वर्षीया रीना मण्डल, जनकपुर-५ की २३ वर्षीया लक्ष्मी मण्डल, सोही ठाउँका १८ वर्षीय राजाबाबु, जनकपुर-४ की ४० वर्षीया मनितादेवी मण्डल, सोही ठाउँकी ३० वर्षीया पुनिता मण्डल र मेडिकलमा काम गर्ने धरान-१३ की ४३ वर्षीया यशोदा श्रेष्ठ, जनकपुरका २४ वर्षीय रोहित मण्डल र २४ वर्षीय रोहन मण्डलको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धनौडी-२ का ३८ वर्षीय जितेन्द्र मण्डल, महोत्तरी मठ्ठीपानी-४ का २५ वर्षीय महमत मुलाल, जनकपुरकी ४० वर्षीया सुनेना देवी मण्डल र जनकपुर-५ का २० वर्षीय कृष्ण मण्डलको अवस्था गम्भीर रहेको छ । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्