दमक, ५ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भयरहित चुनावका लागि सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । सोमबार आफ्नो निर्वाचन क्षेत्र झापा–५ दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले सरकार शान्ति सरक्षा कायम गर्नतिर अग्रसर नभएको बताउनु भयो ।
देशलाई चाहिएको शान्ति सुरक्षामा सरकार उदासिन देखिएको औंल्याउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘स्वयं तपाईं पत्रकारहरु नै सेल्फ सेन्सरसिप गर्नुपरेको छ । कसको पक्षमा लेखिदिने भन्ने छ । देशको प्रधानन्यायधिशले समेत धम्की आएको छ भन्ने अवस्था छ । निर्वाचन अयोग त्रासादीमा छ । प्रहरीको मनोबल छैन । जनताले प्रहरीको बस्ने ठाँउ बनाइदिएका छन् । जेल फोड्ने क्रिमिनिल काम गर्नेहरुको मुद्दा फिर्ता लिने काम भएको छ । यस्तो स्थितिमा शान्ति सुरक्षाको अवस्था नाजुक छ ।’
अध्यक्ष ओलीले झापाको एसपी फेरिएको सन्दर्भ औंल्याउँदै भन्नुभयो– ‘म २५ वर्ष अघि गृहमन्त्री भएको हुँ । त्यो बेला यस्तो काम कहिल्यै गरिनँ । एसपीलबाट निश्पक्षता हुन्छ कि भन्ने डरले सरुवा गरिएको छ । यस्तो सबै दलले आ–आफ्नो पक्षबाट फेर्न माग गरे भने कसरी सुरक्षाकर्मीले काम गर्न सक्छन् ?’
झापाको मुहार फेर्ने गरी विकासको काम आफ्नो कार्यकालमै रहेको उहाँले बताउनु भयो । प्रधानमन्त्रीबाट राजिनामा गरेपछि मंगलबार उम्मेदवारी दर्ताका लागि आफ्नो गृह क्षेत्र आउनु भएका अध्यक्ष ओलीले झापामा भएका विकासका कामहरु हेर्न र सही रिपोर्टिङ गर्न सबैलाई आग्रह गर्नुभयो ।
‘हामीले यहाँबाट जनप्रतिनिधिका रुपमा गएपछि नदी नियन्त्रण, खानेपानी, शिक्षा, स्वास्थ्य सबै कामहरु भएका छन् । यस क्षेत्रमा विभिन्न दुर्गम ठाउँमा उद्यमी व्यावसायहरु भएका छन् । विशाल औद्योगिक क्षेत्र बनाउने तयारी छ । कृषिको आधुनिकीकरण, उद्योगहरु बनाउँदै लाने अन्तिम तयारीमा छौं । यहाँको योजनाले धेरै रोजगारीको सृजना गर्नका लागि यान्त्रिकरण गरिरहेका छौं’, अध्यक्ष ओलीले भन्नुभयो ।
‘झापा जिल्लामा धेरै परिवर्तन भएका छन् । बाटाघाटाका हिसाबले भएका विकास हेर्न सँगसँगै घुमौं, हेरौं । झापामा घर पातला भए, बाटा बाक्लो भए । बाटा सफा छन् । हुनत फलानो उम्मेदवार आउने भयो भनेर बाटा सफा भयो भन्न पनि सक्छन्’, उहाँले भन्नुभयो– ‘आधारभूत विकासको काम भएका छन् । विकास निरन्तर हुने चिज हो । शिक्षाको हकमा उत्तरतिर भएको छ । दक्षिणतिर शिक्षामा बढि जोड् दिनुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्