Banner News

व्यक्तिगत स्वार्थभन्दा बृहत्तर हितलाई प्राथमिकता दिने संस्कार नेपालको सामाजिक जीवनको अभिन्न अङ्ग : प्रधानमन्त्री कार्की



काठमाडौँ, ५ माघ । प्रधानमन्त्री सुशीला कार्कीले व्यक्तिगत स्वार्थभन्दा बृहत्तर हितलाई प्राथमिकता दिने संस्कार नेपालको सामाजिक जीवनको अभिन्न अङ्ग भएको बताएकी छन् ।

सोनाम लोछारको अवसरमा नेपाल तामाङ घेदुङलगायत विभिन्न सङ्घ संस्थाहरूले सोमबार काठमाडौँको टुँडिखेलमा आयोजना गरेको तामाङ सांस्कृतिक महोत्सवमा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबीच एकता अपरिहार्य रहेको बताएकी हुन् ।

सांस्कृतिक चाडपर्व, धार्मिक विविधता मुलुकको शक्ति र सम्पत्ति भएकाले यसप्रति गर्व गर्न सके राष्ट्रिय शक्ति बलियो बन्न सक्ने उनले बताइन् । उनले मुलुकको रैथाने ज्ञान सीप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको बताइन् ।