समाचार

पिउने पानीमा एमोनिया फेला



काठमाडौँ, ११ माघ । काठमाडौँ उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने एमोनिया फेला परेको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमनका क्रममा भक्तपुरमा रहेको श्रीकृष्ण बेभरेजले उत्पादन गरेको जारको पानी परीक्षण गर्दा एमोनिया पोजेटिभ पाइएको हो ।

मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत गरिएको प्रारम्भिक परीक्षणमै पानीमा एमोनिया भेटिएपछि थप परीक्षणका लागि नमुना सङ्कलन गरिएको विभागले जनाएको छ । 

कागेश्वरी मनोहरा नगरपालिका–९ अन्तर्गत गोठाटार क्षेत्रका विभिन्न खाद्य उद्योग र व्यवसायको अनुगमनका क्रममा जार भर्ने प्रक्रियामा समेत गम्भीर लापरबाही देखिएको थियो । निरीक्षणका बेला श्रमिकले हातमा पन्जा नलगाई जार भर्ने गरेको पाइएपछि सरसफाइप्रति उद्योगको बेवास्ता प्रस्ट भएको विभागको भनाइ छ ।

त्यस्तै, शीतल जल उद्योगमा पनि श्रमिकको व्यक्तिगत सरसफाइ कमजोर रहेको र प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका अनुसार राख्नुपर्ने अभिलेखसमेत नराखिएको पाइएको छ । विभागले पुराना तथा कुच्चिएका जार प्रयोग नगर्न र तत्काल सरसफाइ सुधार गर्न निर्देशन दिएको छ ।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा लापरबाही सह्य नहुने भन्दै विभागले दोषी देखिएका उद्योगलाई कडा चेतावनी दिएको छ। एमोनिया भेटिएको श्रीकृष्ण बेभरेजमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ।